रामेछापमा आयुर्वेद सेवाप्रति आकर्षण बढ्दो, ओपीडीमा बिरामीको संख्या १० हजार नाघ्यो
२४ असोज २०८३, शनिवार
रामेछाप– रामेछापमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाप्रति नागरिकको आकर्षण बढ्दै गएको छ । मन्थलीस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा बहिरङ्ग सेवा (ओपीडी) लिने बिरामीको सङ्ख्या १० हजार नाघेको छ । चिकित्सालयले जिल्लाका आठवटै स्थानीय तहमा सेवा विस्तार गर्दै निःशुल्क स्वास्थ्य शिविर, घरदैलो अभियानलगायत कार्यक्रम सञ्चालन गरेको छ ।
बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मन्थली रामेछापको आयोजनामा सम्पन्न आर्थिक वर्ष २०८२/८३ मा सम्पादित आयुर्वेद सेवा तथा कार्यक्रमहरूको जिल्लास्तरीय वार्षिक समीक्षामा प्रस्तुत विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा पाँच हजार ७८४ जनाले ओपीडी सेवा लिएकामा २०८१/८२ मा आठ हजार ८४६ र २०८२/८३ मा १० हजार १९४ जनाले सेवा लिएका छन् ।
यसअनुसार दुई वर्षको अवधिमा ओपीडी सेवा लिनेको सङ्ख्या ४ हजार ४१० ले बढेको छ । पछिल्लो आर्थिक वर्षमा मात्रै अघिल्लो वर्षको तुलनामा एक हजार ३४८ जनाले बढी सेवा लिएका छन् । तथ्याङ्कले आयुर्वेद उपचार सेवाको पहुँच र उपयोग बढ्दै गएको देखाएको छ । चिकित्सालयले ओपीडी सेवासँगै पूर्वकर्म तथा पञ्चकर्म, फिजियोथेरापी, अकुपञ्चर, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा र स्तनपायी आमाका लागि प्रोत्साहन कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । चिकित्सालयले नियमित सेवाका अतिरिक्त जिल्लाका आठवटै स्थानीय तहमा १२ पटक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरी दुई हजार ४२९ जनालाई सेवा प्रदान गरेको जनाएको छ । त्यस्तै, चिकित्सालय वरपरका क्षेत्रमा २८ पटक साप्ताहिक घरदैलो अभियान सञ्चालन गरी एक हजार २०५ जनालाई सेवा दिइएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा सङ्घीय तथा प्रदेश सशर्त अनुदानतर्फ कुल एक करोड ३८ लाख २३ हजार ६५२ रुपैयाँ विनियोजन भएकामा एक करोड २७ लाख ९३ हजार २१२ रुपैयाँ ४२ पैसा खर्च भएको छ । यो कुल विनियोजित बजेटको ९२.६ प्रतिशत हो । चिकित्सालयले उक्त अवधिमा शतप्रतिशत भौतिक प्रगति हासिल गरेको र बेरुजु नरहेको जनाएको छ । चिकित्सालयमा कार्यरत जनशक्तिमध्ये ५६ प्रतिशत करार, २६ प्रतिशत स्थायी र १९ प्रतिशत अन्य स्रोतबाट व्यवस्थापन गरिएको विवरण प्रस्तुत गरिएको छ। प्रतिशतको कुल योग १०१ देखिएकाले जनशक्तिसम्बन्धी विवरणमा वर्गीकरण वा गणनाको आधार स्पष्ट पार्नुपर्ने देखिन्छ । चिकित्सालयमा ३५ प्रकारका औषधि उपलब्ध हुनुपर्नेमा हाल ३१ देखि ३२ प्रकारका औषधि उपलब्ध रहेको विवरणसमेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य आनन्दकुमार श्रेष्ठले आयुर्वेद सेवाको प्रभावकारिता बढाउन संस्थागत सुधार, समन्वय र जनचेतना अभिवृद्धि आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय जडीबुटीबाट उत्पादित औषधिको उचित प्रयोगमार्फत नागरिकलाई व्यवस्थित स्वास्थ्योपचार उपलब्ध गराउन र आयुर्वेद सेवाबारे जनचेतना बढाउन यस्ता समीक्षा कार्यक्रमले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । तीन तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उहाँले प्रदेश सरकारको भूमिका विकास निर्माण, जनशक्ति व्यवस्थापन, स्वास्थ्य सेवा विस्तार तथा स्थानीय तहलाई सहयोग पु¥याउने सन्दर्भमा महत्वपूर्ण रहेको बताउनुभयो। संस्थाले सेवा सञ्चालन गरेर मात्रै नपुग्ने भन्दै नागरिकलाई सेवाबारे जानकारी गराउने, अन्य स्वास्थ्य संस्थासँग समन्वय गर्ने र सेवाको औचित्य स्थापित गर्ने कामसमेत आवश्यक रहेको उहाँको भनाइ थियो ।
जिल्ला समन्वय समितिका उपप्रमुख प्रेमसागर थापाले चिकित्सालयको सेवा विस्तार तथा संस्थागत सुदृढीकरणका लागि जिल्ला समन्वय समितिका तर्फबाट सहकार्य जारी रहने बताउनुभयो । उहाँले स्वास्थ्य शिविर सञ्चालनका लागि आवश्यक सवारीसाधन तथा व्यवस्थापनमा देखिएका कठिनाइ सम्बोधन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । स्वास्थ्यसम्बन्धी ऐन, कानुन तथा संस्थागत व्यवस्थामा आवश्यक सुधार गरेर सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले आयुर्वेद उपचारलाई स्थानीय स्रोतसाधन तथा जडीबुटीको उपयोगसँग जोडेर अगाडि बढाउनुपर्ने बताउनुभयो। नगरपालिकाले उपलब्ध गराएको भवनबाट चिकित्सालयले सेवा सञ्चालन गरिरहेको उल्लेख गर्दै उहाँले सार्वजनिक सम्पत्तिको उपयोग नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले हुनुपर्ने धारणा राख्नुभयो । उहाँले आयुर्वेद उपचारसँगै योग, प्राणायाम र प्राकृतिक उपचार पद्धतिबारे जनचेतना बढाउन सके नागरिकलाई स्वास्थ्यप्रति सचेत बनाउन सहयोग पुग्ने बताउनुभयो ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका अध्यक्ष नवराज पथिकले चिकित्सालयलाई नामअनुसारको सेवा प्रदान गर्न सक्ने संस्थाका रूपमा विकास गर्नु आफ्नो प्राथमिकता रहेको बताउनुभयो। बिरामी भर्ना गरेर उपचार गर्न सकिने अन्तरङ्ग सेवा सञ्चालन नभएसम्म चिकित्सालयको सेवा पूर्ण हुन नसक्ने उहाँको भनाइ थियो । उहाँले बागमती प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेटमा अन्तरङ्ग सेवा सञ्चालनको विषय समेटिएकाले त्यसलाई कार्यान्वयन गर्न आवश्यक पहल गरिने बताउनुभयो। कार्यक्रममा प्राप्त सुझावलाई आगामी वार्षिक योजना तथा कार्यक्रममा समावेश गर्दै सेवा विस्तार र संस्थागत सुधारमा अघि बढ्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकारहरु, विभिन्न स्वास्थ्य संस्थाहरुका प्रमुखहरुको सहभागीता रहेको थियो ।
रामेछाप कारागारमा १६३ जनाको आँखा परीक्षण, ८७ जनालाई निःशुल्क चस्मा वितरण
२४ असोज २०८३, शनिवार रामेछाप– विश्व दृष्टि दिवस २०२६ को अवसरमा रामेछाप कारागार कार्यालयमा आयोजित निःशुल्क आँखा परीक्षण शिविरबाट १६३ जना लाभान्वित
चौथो रामेछाप कप–२०८३ भोलि देखी हुनेः २७ लाख रुपैयाँभन्दा बढीको अनुमानित बजेट प्रस्तुत
२४ असोज २०८३, शनिवार मन्थली– रामेछापको मन्थली नगरपालिका–२, करम्बोटस्थित दिपशिखा ब्वाईज युनाईटेड क्लवको आफ्नै खेल मैदानमा ‘चौथो रामेछाप
कांग्रेस नेतृ विनिता खड्का पक्राउ, ठगीदेखि सम्पत्ति छानबिनसम्मका आरोप
२४ असोज २०८३, शनिवार रामेछाप– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि मत मागिरहेकी नेतृ विनिता खड्कालाई नेपाल प्रहरीको

प्रतिकृया दिनुहोस