• ON AIR
  • स्टेशन सुभारम्भ

सुदूरपश्चिम पहिलो पटक एनपीएल च्याम्पियन

६ मंसिर २०८३, आइतवार
रामेछाप– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ। त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक उपाधि उचालेको हो । लुम्बिनीले प्रस्तुत गरेको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै पनि विकेट नगुमाई १३ ओभर ३ बलमै पूरा ग¥यो । 
सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सीले विस्फोटक ब्याटिङ प्रदर्शन गर्दै अविजित शतकीय पारी खेले। उनले ५४ बलको सामना गर्दै १२५ रन बनाए। उनको आक्रामक ब्याटिङले लुम्बिनीका बलरलाई सुरुदेखि नै दबाबमा राखेको थियो । मुन्सीलाई अर्का ओपनर विनोद भण्डारीले उत्कृष्ट साथ दिए। भण्डारीले २७ बलमा अविजित ३० रन बनाए। दुवै ब्याटरबीचको अविजित साझेदारीले सुदूरपश्चिमलाई सहज जित दिलाउनुका साथै फाइनललाई एकपक्षीय बनायो। लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले देखाएको आक्रामकता र ब्याटिङमा कायम गरेको नियन्त्रण उपाधि यात्राको निर्णायक पक्ष बन्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १५५ रन बनाएको थियो। लुम्बिनीका लागि दिलीप नाथले अविजित ३९ रन बनाउँदै टोलीको स्कोर उकास्ने प्रयास गरे । रोहित पौडेलले ३० तथा निरोशन डिकवेलाले २८ रनको योगदान दिए। तर, सुदूरपश्चिमको अनुशासित बलिङसामु लुम्बिनीले अपेक्षाकृत ठूलो योगफल खडा गर्न सकेन । सुदूरपश्चिमका स्कट कुगेलेइनले दुई विकेट लिए। हेमन्त धामी, थरिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट हात पारे । बलिङमा विपक्षीलाई सीमित राखेको सुदूरपश्चिमले ब्याटिङमा भने उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो ।
यस उपाधिसँगै सुदूरपश्चिमको लामो प्रतीक्षाले पूर्णता पाएको छ । लगातार तेस्रोपटक एनपीएलको फाइनलमा पुगेको सुदूरपश्चिम यसअघि दुई संस्करणमा उपविजेतामै सीमित भएको थियो । पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको टोली दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग स्तब्ध बनेको थियो ।
यसपटक भने विगतका दुई फाइनलको निराशालाई जितमा बदल्दै सुदूरपश्चिमले ऐतिहासिक सफलता हासिल गरेको छ। फाइनलमा साविक विजेतालाई नै १० विकेटले हराउँदै उपाधि जित्नु टोलीका लागि सुखद उपलब्धि बनेको छ। लगातारको प्रयास, सामूहिक प्रदर्शन र निर्णायक खेलमा देखाएको उत्कृष्ट लयका कारण सुदूरपश्चिम रोयल्स एनपीएलको तेस्रो संस्करणको नयाँ च्याम्पियन बनेको छ ।

 

प्रतिकृया दिनुहोस

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु हुँदै, विजेताले एक करोड ५० लाख पाउने

९ कार्तिक २०८३, सोमवार रामेछाप– नेपाली क्रिकेटको लोकप्रिय फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ

रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडलाई, न्यु स्टार उपविजेता

२९ असोज २०८३, बिहिवार रामेछाप– चौथो रामेछाप कप फुटबल प्रतियोगिताको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड क्लबले जितेको छ । मन्थलीमा बिहीबार भएको

बडा दशैं अवसरमा धोबीमा विविध प्रतियोगिता आयोजना हुने

२१ असोज २०८३, बुधवार रामेछाप– बडा दशैं २०८३ को अवसरमा रामेछापको धोबीमा विभिन्न मनोरञ्जनात्मक तथा सिर्जनात्मक प्रतियोगिता आयोजना हुने भएको छ ।

↑