• ON AIRतिफदी समाचार
  • राष्ट्रिय गितहरु

वामपन्थी शक्तिबीच एकता र ध्रुवीकरण आवश्यक छः जिल्ला इन्चार्ज श्यामकुमार श्रेष्ठ

२९ कार्तिक २०८३, आइतवार 
रामेछाप– नेपालको वामपन्थी तथा कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन वामपन्थी शक्तिबीच एकता र ध्रुवीकरण आवश्यक रहेको नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज श्यामकुमार श्रेष्ठले बताउनुभएको छ । विचार, नीति र कार्यक्रम मिल्ने राजनीतिक शक्तिबीच सहकार्य तथा एकता हुनु स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै उनीहरूले वामपन्थी आन्दोलनलाई पुनः सशक्त बनाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ । पार्टीको दुई महिने विशेष जागरण अभियान अन्तरर्गत तिफदी विशेष संवाद कार्यक्रममा बोल्दै श्रेष्ठले पार्टीका विगतका राजनीतिक उपलब्धिको समीक्षा गर्दै कमीकमजोरी स्वीकार गरेर नयाँ ढङ्गले अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले विगतमा वामपन्थी शक्तिले जनताबाट ठूलो समर्थन प्राप्त गरे पनि त्यसलाई दिगो राजनीतिक उपलब्धिमा रूपान्तरण गर्न नसक्नु कमजोरी भएको स्वीकार गर्नुभयो ।
श्रेष्ठको अनुसार तत्कालीन संविधानसभामा तत्कालीन माओवादीले २३८ सिट प्राप्त गरेको थियो । दुई तिहाइ वा स्पष्ट बहुमत नहुँदा जनतासँग गरेका प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन गर्न कठिन भएको उहाँको भनाइ छ । सामाजिक न्याय, सुशासन र नीतिगत सुधारका क्षेत्रमा अपेक्षाअनुसार काम गर्न नसक्नुमा राजनीतिक अस्थिरता र गठबन्धन सरकारको सीमासमेत जिम्मेवार रहेको उहाँले बताउनुभयो । ३२ सिटसहित सरकारको नेतृत्व गरेको तत्कालीन माओवादीले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गरेको र त्यसकै कारण सरकारबाट बाहिरिनुपरेको उहाँको दाबी थियो । बहुमत प्राप्त नभएको अवस्थामा सरकारमा रहेर राम्रो काम गर्न खोज्दा पनि सत्ता टिकाउन कठिन हुने गरेको उहाँले उल्लेख गर्नुभयो ।  उहाँले अहिले गठन भएको सरकारलाई जनताले पाँच वर्षका लागि म्यान्डेट दिएको स्वीकार गर्दै उक्त अवधिमा काम गरेर देखाउनुपर्ने बताउनुभयो । तर पाँच वर्षको जनादेश प्राप्त हुँदैमा संविधान र नागरिकका अधिकारविपरीतका काम गर्ने छुट कसैलाई नहुने उहाँको भनाइ थियो । सरकारले कर्मचारीका पेसागत सङ्गठन, विद्यार्थी सङ्गठन तथा ट्रेड युनियनका अधिकारमा हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै उहाँले संविधानले सुनिश्चित गरेका राजनीतिक तथा सङ्गठनात्मक अधिकारको संरक्षण हुनुपर्ने बताउनुभयो । लोकतान्त्रिक व्यवस्थामा नागरिकले आफ्ना विचार व्यक्त गर्न, सङ्गठित हुन र सरकारका गलत कामको आलोचना गर्न पाउनुपर्ने उहाँको धारणा थियो ।
श्रेष्ठले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले देशलाई लोडसेडिङमुक्त बनाउने अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गर्नुभयो । १८ घण्टासम्म लोडसेडिङको मार खेप्नुपरेको अवस्थामा विद्युत् उत्पादन, प्रसारण र व्यवस्थापनमा भएका सुधार तत्कालीन सरकारको पहलमा सम्भव भएको उहाँको भनाइ थियो । तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्मा र नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको भूमिकालाई समेत महत्त्वपूर्ण मान्दै समग्र उपलब्धिको मुख्य श्रेय तत्कालीन प्रधानमन्त्री प्रचण्डको नेतृत्वलाई दिनुपर्ने बताउनु भयो । अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माण सम्पन्न हुनु तथा विद्युत् आपूर्ति व्यवस्थापनमा सुधार आउनु तत्कालीन सरकारको पहलसँग जोडिएको उहाँको भनाइ थियो । राष्ट्रिय गौरवका आयोजनाहरू पूर्वपश्चिम राजमार्ग, काठमाडौं–निजगढ द्रुतमार्ग, सुनकोसी–मरिण डाइभर्सन, भेरी–बबई डाइभर्सन, अरुण तेस्रो र माथिल्लो तामाकोसीजस्ता आयोजनाको विकास तथा अघि बढाउने प्रक्रियामा विभिन्न सरकारको भूमिका रहेको उल्लेख गर्दै उहाँले ती आयोजनालाई राजनीतिक नेतृत्वको योगदानसँग जोडेर हेर्नुपर्ने बताउनुभयो । यद्यपि विगतका उपलब्धि मात्रै पर्याप्त नभएको स्वीकार गर्दै उहाँले सुशासन, सामाजिक न्याय र जनताको जीवनस्तर सुधारका क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।
पार्टीले सञ्चालन गरेको दुई महिने जागरण अभियान सरकारविरुद्ध आन्दोलन सिर्जना गर्ने उद्देश्यले मात्रै नभई सङ्गठन सुदृढीकरण, जनसम्बन्ध विस्तार र जनताका समस्या बुझ्ने कार्यक्रम भएको श्रेष्ठले स्पष्ट पार्नुभयो । सरकारका सबै कामको विरोध गर्ने पार्टीको नीति नरहेको उल्लेख गर्दै उहाँले जनविरोधी तथा गलत निर्णयको भने तथ्यसहित विरोध गरिने बताउनुभयो । लोकतन्त्रमा सहीलाई सही र गलतलाई गलत भन्न पाउने अधिकार रहेको भन्दै प्रतिपक्षले सरकारका गलत कामबारे जनतालाई सुसूचित गराउनु आफ्नो जिम्मेवारी भएको उहाँको भनाइ थियो । सरकारका गतिविधिमा देखिएका केही कमजोरी औँल्याउँदै योजनाको घोषणा गर्ने तर कार्यान्वयनमा पर्याप्त ध्यान नदिने प्रवृत्ति, विपद् व्यवस्थापनमा अपेक्षित सक्रियता नदेखिनु तथा सुकुम्बासी समस्या समाधानका क्रममा अपनाइएका प्रक्रियामाथि प्रश्न उठाउनुभयो । सरकारले नागरिकका समस्या समाधान गर्दा विकल्पसहित न्यायपूर्ण ढङ्गले अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । लोकतान्त्रिक व्यवस्था र संविधानमाथि कुनै प्रकारको संकट उत्पन्न भए नागरिक स्वतः प्रतिरोधमा उत्रिन सक्ने अवस्था आउने उहाँको भनाइ थियो । तर अहिले नै आन्दोलन आवश्यक रहेको निष्कर्षमा पुग्नुभन्दा सरकारका कामको समीक्षा र जनतालाई जानकारी गराउने कामलाई प्राथमिकता दिइएको उहाँले स्पष्ट पर्नुभयो ।
नेपालको वामपन्थी आन्दोलन पछिल्लो समय कमजोर अवस्थामा पुगेको स्वीकार गर्दै उहाँले त्यसलाई पुनर्गठन र रूपान्तरणमार्फत नयाँ उचाइमा पुर्‍याउनुपर्ने उहाँले बताउनुभयो । विगतमा जनताले दिएको ठूलो समर्थनलाई जोगाउन नसक्नु वामपन्थी शक्तिको कमजोरी भएको उल्लेख गर्दै उहाँले आत्मसमीक्षासहित अघि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँका अनुसार विचार, सिद्धान्त र कार्यक्रम मिल्ने राजनीतिक दलबीच पार्टी एकता तथा कार्यगत एकता हुनु अस्वाभाविक होइन । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच निर्वाचनमा कार्यगत एकता वा भविष्यमा पार्टी एकताको सम्भावनालाई अनावश्यक रूपमा विवादको विषय बनाउन नहुने उहाँले बताउनुभयो । वामपन्थी शक्तिबीच एकता र ध्रुवीकरण आवश्यक रहेको उल्लेख गर्दै उहाँले सामाजिक न्याय, आर्थिक समृद्धि, राजनीतिक स्थायित्व र जनताका जल्दाबल्दा समस्या समाधानका लागि साझा राजनीतिक दृष्टिकोण आवश्यक रहेको बताउनुभयो । उहाँले वामपन्थी शक्तिहरू एकताबद्ध भए नेपालको राजनीतिमा पुनः बलियो शक्ति निर्माण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । विगतका गल्तीलाई स्वीकार गर्दै सुधारको प्रतिबद्धतासहित जनतामाझ जानुपर्ने उहाँको भनाइ थियो ।
यसैविच, नेपाली कम्युनिस्ट पार्टीले रामेछापमा सञ्चालन गरेको दुई महिने विशेष जागरण अभियानअन्तर्गत पहिलो चरणमा आन्तरिक सङ्गठन सुदृढीकरणलाई प्राथमिकता दिने निर्णय गरेको छ । अभियानलाई पालिका, वडा, सेल तथा टोल तहसम्म विस्तार गरी जनतासँग प्रत्यक्ष संवाद गर्ने पार्टीको योजना रहेको श्रेष्ठले जानकारी दिनुभयो । दोस्रो चरणमा स्थानीय कमिटीहरूको सम्मेलन गरी नयाँ नेतृत्व चयन गर्ने, सङ्गठनलाई व्यवस्थित र गतिशील बनाउने तथा तेस्रो चरणमा आगामी स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित हुने उहाँले बताउनुभयो । पार्टी केन्द्रबाट जारी अन्तरपार्टी निर्देशन–५ तथा विशेष निर्देशनका आधारमा केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरूलाई आ–आफ्नो जिम्मेवारीअनुसार सम्बन्धित भूगोलमा केन्द्रित गराइने उहाँले जानकारी दिनुभयो । रामेछापमा आयोजित जिल्ला पार्टी बैठक तथा जागरण अभियान उद्घाटन कार्यक्रमले सङ्गठनलाई जनतासँग जोड्ने, स्थानीय तहसम्म नेतृत्व विस्तार गर्ने र आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको गतिविधि प्रभावकारी बनाउने निर्णय गरेको उहाँले बताउनुभयो । पार्टीले विगतका राजनीतिक कमजोरीको समीक्षा गर्दै जनताको विश्वास पुनः प्राप्त गर्ने, वामपन्थी शक्तिबीच सहकार्य बढाउने र जनताका समस्या समाधानका लागि राजनीतिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

प्रतिकृया दिनुहोस

खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढ्ने बाटो खुल्यो, ३ करोड विनियोजन

२९ कार्तिक २०८३, आइतवार रामेछाप– रामेछापको ऊर्जा, कृषि, पर्यटन तथा आर्थिक विकासमा दूरगामी प्रभाव पार्ने अपेक्षा गरिएको एक हजार २१६ मेगावाट क्षमताको

रामेछापमा नेपाली कम्युनिष्ट पार्टीको दुई महिने विशेष जागरण अभियान उद्घाटन

२८ कार्तिक २०८३, शनिवार रामेछाप–  नेपाली कम्युनिष्ट पार्टीले संगठन सुदृढीकरण, जनसम्बन्ध विस्तार तथा जनताका समस्या र आवाजलाई सम्बोधन गर्ने

धोबीबजारमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ३११ जना लाभान्वित

१९ कार्तिक २०८३, बिहिवार रामेछाप– रामेछापको लिखुतामाकोशी गाउँपालिका–५ धोबीबजारमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ३११ जना

↑