धोबीबजारमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ३११ जना लाभान्वित
१९ कार्तिक २०८३, बिहिवार
रामेछाप– रामेछापको लिखुतामाकोशी गाउँपालिका–५ धोबीबजारमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ३११ जना स्थानीय नागरिक लाभान्वित भएका छन् । काठमाडौं मेडिकल कलेज (केएमसी) को प्राविधिक सहयोग तथा लिखुतामाकोशी गाउँपालिकाको आयोजनामा सञ्चालित शिविरमा विशेषज्ञ चिकित्सकसहितको टोलीले विभिन्न स्वास्थ्य सेवा प्रदान गरेको हो । ग्रामीण तथा दुर्गम भेगका नागरिकलाई स्थानीय तहमै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, रोग पहिचान तथा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ । आर्थिक अवस्था कमजोर भएका तथा भौगोलिक विकटताका कारण सहज रूपमा अस्पतालसम्म पुग्न नसक्ने नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको हो ।
शिविरमा सामान्य स्वास्थ्य परीक्षणसँगै ईसीजी, भिडियो एक्सरे, इको, प्रयोगशाला परीक्षण तथा दन्त उपचार सेवा उपलब्ध गराइएको थियो । सेवा लिनेहरूमध्ये ८४ जनाको ईसीजी, १४७ जनाको भिडियो एक्सरे, ८१ जनाको प्रयोगशाला परीक्षण र ७७ जनाको इको परीक्षण गरिएको थियो । त्यस्तै, १९ जनाको दाँत निकालिएको छ भने थप विशेषज्ञ उपचार आवश्यक देखिएका २७ जनालाई सम्बन्धित स्वास्थ्य संस्थामा रिफर गरिएको आयोजकले जनाएको छ ।
सामान्य स्वास्थ्य जाँचदेखि विभिन्न प्रविधिमा आधारित परीक्षणसम्मको सेवा गाउँमै उपलब्ध भएपछि स्थानीय बासिन्दालाई उपचारका लागि टाढाका अस्पताल धाउनुपर्ने बाध्यता केही हदसम्म कम भएको छ । विशेषगरी आर्थिक तथा भौगोलिक कठिनाइका कारण लामो समयदेखि स्वास्थ्य परीक्षण गराउन नसकेका नागरिकका लागि शिविर उपयोगी बनेको छ । यस्ता कार्यक्रमले रोगको प्रारम्भिक पहिचान, समयमै उपचार र स्वास्थ्यप्रतिको सचेतना अभिवृद्धिमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ । काठमाडौं मेडिकल कलेजले स्थानीय तहसँगको सहकार्यमा उपत्यकाबाहिरका विभिन्न जिल्लाका ग्रामीण तथा दुर्गम क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । शिविरका क्रममा जटिल स्वास्थ्य समस्या पहिचान भएका तथा थप उपचार आवश्यक पर्ने बिरामीलाई काठमाडौं मेडिकल कलेजमा उपचारको व्यवस्था मिलाउने गरिएको छ ।
केएमसीका सञ्चालक तथा नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माले आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित विपन्न तथा असहाय बिरामीको उपचारमा सहयोग गर्दै आएका छन् । काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबेल मेडिकल कलेजमार्फत बिरामीलाई छुट, निःशुल्क उपचार तथा आवश्यकताअनुसार शल्यक्रियाको व्यवस्था गरिँदै आएको छ ।
डा. शर्माले आर्थिक अभावका कारण उपचार गर्न नसकेका एक हजार बिरामीको गम्भीर रोगको शल्यक्रिया निःशुल्क गर्ने घोषणा गरेका छन्। सोही पहलअन्तर्गत विभिन्न जिल्लाका विपन्न बिरामीलाई अस्पतालसम्म पु¥याई उपचार तथा आवश्यक शल्यक्रियामा सहयोग गरिँदै आएको छ । ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न स्थानीय सरकार र स्वास्थ्य संस्थाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउन सके यस्ता शिविरबाट दुर्गम क्षेत्रका नागरिकले प्रत्यक्ष लाभ लिन सक्ने देखिन्छ ।
धोबीबजारमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ३११ जना लाभान्वित
१९ कार्तिक २०८३, बिहिवार रामेछाप– रामेछापको लिखुतामाकोशी गाउँपालिका–५ धोबीबजारमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ३११ जना
तीन दिनको निरन्तर प्रयासपछि सुनापतिको तल्लो सडक पुनः सञ्चालनमा आउँदै
१९ कार्तिक २०८३, बिहिवार रामेछाप– लगातारको भारी वर्षा, पहिरो र भौगोलिक विकटताका कारण अवरुद्ध बनेको रामेछापको सुनापति गाउँपालिका–३ हिलेदेवीस्थित
रामेछापमा दुई महिने जागरण अभियानलाई व्यापक बनाउने नेकपाको तयारी, केन्द्रीय सदस्यहरूबीच छलफल
१९ कार्तिक २०८३, बिहिवार रामेछाप– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रामेछापले पार्टीको संगठनात्मक अवस्था सुदृढ गर्दै जनतासँगको सम्बन्ध थप मजबुत

प्रतिकृया दिनुहोस