• ON AIR
  • स्टेशन सुभारम्भ

समाजवादी शिक्षा पद्धतिको अर्थ 


 – राजेन्द्र किराँती 
       आदर्श राज्यका परिकल्पनाकार प्लेटोले शरीर र मस्तिष्कलाई सकेसम्म सुन्दर र पूर्ण बनाउने प्रक्रिया नै शिक्षा हो भनेर व्याख्या गरेका थिए । त्यस्तै हर्बर्ट स्पेन्सरले शिक्षालाई पूर्ण जीवनको तयारी भनेको थिए । यता रुसोले बच्चालाई पूर्ण बनाउने कला नै शिक्षा भनेका थिए । यसैगरी जनवादी क्रान्तिका प्रणेता माओले शिक्षा भनेको समाजका खराबीहरू हटाउने राजनीतिक प्रक्रियागत आन्दोलनको उद्देश्यबाट निर्देशित हुनुको साथै व्यावहारिक हुनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले उत्पादनको निम्ति गरिने समग्र सङ्घर्षबाट प्राप्त गरिने शिक्षा वस्तुवादी र व्यावहारिक हुने वैज्ञानिक तथ्य पत्तो लगाउनुभयो । यसबाट के प्रष्ट हुन्छ भने शिक्षा भनेको मूलतः सामन्यबाट उन्नत ज्ञान प्राप्तीको सिलसिला हो । यस अतिरिक्त यो व्यक्तिबाट समग्र समाजलाई पूर्णता दिने प्रक्रिया हो । मानव समाजलाई अझ अर्थपूर्ण, न्यायपूर्ण र समानतातर्फ परिलक्षित अभियान नै शिक्षा हो ।
मान्छेले शिकारी युगमा प्रकृतिसँग सङ्घर्ष गर्नेक्रमबाट नै अनुभवजन्य शिक्षा लिँदै आएको देखिन्छ । प्राकृतिक प्रतिकूलता, अनुकूलता र जीवन व्यवहारसँग अभिन्नरूपमा जोडिएका आवश्यकताका गर्भबाट नयाँ नयाँ ज्ञान सिक्नु पर्ने बाध्यता थियो । यही अनुभवजन्य ज्ञान ग्रहण गर्ने प्रक्रिया नै तात्कालीन शिक्षा प्राप्तीको माध्यम थियो । एवम् रीतले करिब दस हजार वर्ष पहिलेबाट पशुपालन र खेती प्रणाली प्रारम्भ भयो । यो निरन्तर समाज विकासको ऐतिहासिक द्वन्द्वात्मक प्रक्रियाकै उपज थियो । यस्तो उत्पादन पद्धति विकाससँगै विभिन्न क्षेत्रमा खोज अनुसन्धानले व्यापक गति लिन थाल्यो । यही सिलसिला अन्तर्गत करिब ६ हजार वर्ष अगाडि लेखनको आविष्कार गरियो । योसँगै शिक्षा पद्धतिमा पनि व्यापक खोजी हुनथाल्यो । समाजमा वर्गअन्तरविरोध बढेसँगै शिक्षा पनि वर्गीय हुनगयो । शासकहरूले आफ्नो वर्गस्वार्थ रक्षामा यसको भरमार दुरूपयोग र अपव्याख्या गर्नथाले ।
वस्तुतः पौराणिक कालमा आजको जस्तो सङ्गठित र योजनाबद्ध शिक्षा पद्धति थिएन । धर्मगुरुहरूको धार्मिक प्रवचन र भजनहरू नै शिक्षाको मूल स्रोत थियो । यता नेपालमा पनि प्रारम्भमा गुरुकुल शिक्षा थियो । यसमा गुरुकै निवासमा गएर निःशुल्क शिक्षा लिने गरिन्थ्यो । गुरुले तोकेको समयावधि समाप्तीसँगै अध्ययन सकिन्थ्यो । पढाइको समाप्तीसँगै गुरुलाई केही गुरुदक्षिणा दिएर चेलाहरू ज्ञान सीप लिएर घर फर्कन्थे । तर यता सामन्तवाद हुँदै पुँजीवादी राजनीतिक पद्धति विकाससँगै शिक्षालाई शासकहरूले आफ्नो वर्गस्वार्थको अनुकूलतामा परिभाषित गर्न थाले । शासकवर्गीय हितमा मात्र शिक्षालाई परिचालन गरियो । परिणामतः शिक्षामा सबै जनताको पहुँच कायम हुनसकेन । यसकारण आजसम्म पनि अफ्रिका र एसियामा झण्डै ५० प्रतिशत छात्राहरू स्कुल जानबाट वञ्चित रहेको छ । यता अफ्रिकामा अझैसम्म पनि ५० प्रतिशतभन्दा ज्यादा महिलाहरू असाक्षर छन् । यसले शिक्षामा सीमित सभ्रान्त वर्गीय पहुँच र गैरन्यायिक चरित्र रहेको प्रष्ट हुन्छ । 
मूलतः आधुनिक शिक्षाको विकाससँगै विश्वमा पुँजीवादी र समाजवादी दुई शिक्षा नीति सतहमा देखाप¥यो । कथित प्रजातन्त्रवादी मुलुकहरूले सबैलाई समान शिक्षाको अमूक नारामार्फत विभेदपूर्ण शिक्षा नीति अपनाए । तर व्यवहारतः धनी–गरिब सबैले समान रूपमा शिक्षा लिने कुरा कल्पनै गर्न सकिन्न । अझ पछिल्लो समय शिक्षालाई निजीकरणमार्फत नाफा नोक्सानको व्यापार गर्ने माध्यम बनाएसँगै यसले सबै वर्ग, जाति, क्षेत्र र लिङ्गको स्वार्थ र हितको प्रतिनिधित्व गर्ने सम्भावना छैन । यो पद्धतिले जनताले शैक्षिक ज्ञान लिने नैसर्गिक अधिकारलाई कुण्ठित गरेको छ । गुणस्तरीय शिक्षा पैसा, पद र पावरसँग सौदाबाजी भइरहेको छ । सामुदायिक विद्यालयहरू रक्षात्मक देखिन्छन् भने निजी विद्यालयहरू हावी बन्दैछ । यसले एउटै खास समाजमा दुई खालको जनशक्ति उत्पादान गरिरहेको छ । यस्तो विभेदपूर्ण प्रणालीबाट समानता र सामाजिक न्यायमा आधारित समाजवादी शासन व्यवस्था असम्भव हुन्छ । यसकारण वैज्ञानिक र न्यायिक शिक्षा पद्धति बारे बहस जरुरी देखिन्छ । यतिखेर आम प्रश्न के छ भने समाजवादी शिक्षा पद्धति चाँही कस्तो हुन्छ ?  पुँजीवादी र समाजवादी शिक्षा प्रणालीमा के कस्ता भिन्नताहरू छन् ? प्रथमतः,  समाजवादी शिक्षा प्रणाली समाज विकासको ऐतिहासिक प्रक्रिया अनुरूप अङ्गीकार गरिन्छ । यसको समग्र उद्देश्य उन्नत र न्यायपूर्ण समाज रूपान्तरणमा केन्द्रित हुन्छ । यसमा पुँजीवादमा जस्तो द्वैधशिक्षा नीति हुँदैन । धनी र गरिब भएकै कारण पढ्ने ठाउँ, विषय र तरिका फरक हुँदैन । यसमा नीतिगत मात्र होइन व्यवहारतः सबै वर्ग, जाति, क्षेत्र र लिङ्गको समान अवसर र पहुँच कायम गरिन्छ । यो योजनाबद्ध तथा रणनीतिक उद्देश्यतर्फ परिलक्षित हुन्छ । आम नागरिकहरूलाई समाजवादी मूल्यद्वारा प्रशिक्षित गरिन्छ । समाजवादी सोच, चिन्तन, चेत, मनोविज्ञान र संस्कृतिद्वारा निर्दे्शित गरिन्छ । कुनै पनि नागरिकले पढ्ने अवसर नपाउनुको वस्तुवादी कारणहरूको राजकीयरूपमै खोजी गरिन्छ । यसको समाधनको उपायहरूमा गम्भीर छलफल हुन्छ । पुँजीवादमा पनि सबैलाई पढ्ने समान अवसर रहेको नीतिगत र ऐनगत व्यवस्था त गरिएको हुन्छ । तर महँगो हुनाले सबैले गुणस्तरीय शिक्षा लिन सक्दैन । यसमा राज्य बेखबर बस्छ ।  
दोस्रो, समाजवादी शिक्षा प्रणालीमा राज्यको लगानी, नियन्त्रण, निर्देशन, परिचालन र नियमन हुन्छ । शिक्षामा पूर्णरूपमा राजकीय दायित्व सुनिश्चित गरिन्छ । राज्यले शिक्षा आर्जन गर्ने जनताका अधिकारको असली  पहरेदारको भूमिका खेल्छ । यसमा नाफा र कमाउमुखी लगानीहरूलाई निस्तेज गरिन्छ । राज्यको कमान्ड अन्तर्गत उत्पादनमुखी र वैज्ञानिक एउटै शिक्षा प्रणाली हुन्छ । सामाजिक र सामूहिक हितबाहेकका लगानीहरूलाई निरुत्साहित गरिन्छ । शिक्षा क्षेत्रलाई निहित स्वार्थ, व्यापार र व्यवसायको रूपमा नभएर राष्ट्रिय आवश्यक्ता अन्तर्गत नागरिकहरूको समान सामाजिक अधिकारका रूपमा लागू गरिन्छ । स्वास्थ्य, रोजगारी, आवास, खाद्य सभ्प्रभुता जस्तै शिक्षालाई पनि मौलिक अधिकारका रूपमा अङ्गीकार गरिन्छ । वस्तुतः समाजवादमा हरेक नागरिकहरूले आफ्ना मौलिक अधिकारको समान, सम्मान र न्यायपूर्ण ढङ्गले उपभोग गर्न पाउँछ । समाजवादको सबैभन्दा वैज्ञानिक, न्यायिक, विवेकशील र मानवीय उन्नत पक्ष यही हो ।
    तेस्रो, समाजवादी शिक्षामा पुँजीवादमा जस्तो पैसा, पहुँच, प्रभाव र पावरको आधारमा शिक्षा पाउने नैसर्गिक अधिकारलाई सीमित गरिँदैन । यसमा राष्ट्रको रणनीतिक उद्देश्य र ऐतिहासिक प्रक्रियागत आवश्यकतालाई सहयोगी हुने वा राष्ट्रको आवश्यकताका आधारमा पाठ्यक्रम निर्धारण गरिन्छ । समाज रूपान्तरणको  प्रक्रियामा आधारित प्रगतिशील शिक्षा नीति अङ्गीकार गरिन्छ । अर्थात, समाजवादी मूल्य र मान्यतालाई स्थापित गर्दै साम्यवाद जस्तो उन्नत र सभ्य सामाजिक सत्ताका लागि आवश्यक जनशक्ति उत्पादनमा केन्द्रित हुन्छ । भन्नुको मतलब समाजवादी शिक्षामा पुँजीवादमा जस्तो नाफा, एकाधिकार, व्यापार र व्यवसायमुखी असमान र गैरन्यायिक शैक्षिक अवधारणा सोच्नै सकिन्न । यदि त्यसो भए त्यो वस्तुतः समाजवादी शिक्षा नीतिभित्र पर्दैन । व्यक्तिगत हित र स्वार्थको ठाउँमा आधारभूतरूपमै सामूहिक र सामाजिक स्वार्थको माक्र्सवादी स्कुलिङको आमरूपमा अभ्यास गरिन्छ । जनवाद, समाजवाद, उच्चतम समाजवाद हुँदै साम्यवादमा जाने रणनीतिक उद्देश्यमा समग्र शिक्षा पद्धति  निर्दिष्ट गरिन्छ । कुनै पनि खालको हेलाहोचो, विभेद र उत्पीडनको कल्पनै गर्न सकिन्न । यो समानता र न्यायमा आधारित हुन्छ । 
     चौथो, यसमा पुँजीवादमा जस्तो पैसा, पद, पावर र प्रभावको भरमा विद्यार्थीलाई जुनकुनै पनि विषय पढ्न बाध्य गरिँदैन । यसमा उनीहरूको रुचि, क्षमता र राष्ट्रिय आवश्यकताको प्राथमिक सवालहरू संयोजन गरिन्छ । बाल मनोविज्ञान, जन्मजात क्षमता, सीप र कलाको आधारमा खास बालकको खास मनोविज्ञान अनुरूप विषय छनौट गरिन्छ । यसको निर्धारण बाल विशेषज्ञहरूले गर्छ । सानै उमेरबाट उनीहरूको गहिरो अध्ययन गरी समाजवाद निर्माणको प्राथमिक पक्षहरूलाई सहयोगी हुनेढङ्गले विषयवस्तुहरू छनौट गरिन्छ । वास्तवमा समाजवादी शासन पद्धतिमा सामूहिक, सामाजिक तथा राजकीय स्वार्थका लागि हरेक नागरिकबाट अधिकतम श्रम, ज्ञान, सीप र विशेषज्ञता लिने गरिन्छ । पुँजीवादमा पनि श्रम वा काममा लोभ गरिन्छ तर यो नितान्त व्यक्तिगत निहित स्वार्थ र सभ्रान्तवर्गीय हितमा हुने गर्छ । तर समाजवादी श्रमको अधिकतम उपयोग निश्चित रूपमा समग्र मानव समाजको हित र स्वार्थमा आधारित हुन्छ । यसकारण समाजवादी शिक्षा पद्धति व्यावहारिक देखिन्छ । त्यसैले पुँजीवादी गैरन्यायिक र असमान शैक्षिक पद्धतिको व्यावहारिक तथा वैज्ञानिक विकल्प समाजवादी शिक्षा प्रणाली हो । पुँजीवादी शिक्षा नीति विभेदपूर्ण मात्र हुँदैन, नाफामूलक व्यवसाय र व्यापारमा आधारित हुन्छ । विज्ञान र प्रविधिको अभूतपूर्व विकास अनि विश्वमा आएको लोकतान्त्रिक जागरण आन्दोलनको बाबजुत पनि शिक्षामा समान अवसर स्थापित भएको छैन । सबै वर्ग, जाति, क्षेत्र र लिङ्गले शिक्षामा समान पहुँच कायम गर्न सकेका छैनन् ।  आज पनि अफ्रिकामा झण्डै डेढ करोड छात्राहरू विद्यालय जान सकेका छैनन् । झण्डै दुई तिहाई महिलाहरू असाक्षर छन् । त्यस्तै अफ्रिकामा एक करोड बीस लाख र एसियामा झण्डै डेढ करोड विद्यार्थीहरू प्राथमिक तह पूरा नगरी विद्यालय छाड्न बाध्य छन् । व्यावसायिकीकरण र व्यापारीकरणकै कारण शिक्षा महँगो भएको छ । सबैले गुणस्तर शिक्षा लिने वस्तुगत अवस्था छैन । तर समाजवादमा पैसा र पावर नभएकै कारण डाक्टर, इन्जिनियर र पाइलट पढ्न नपाउने भन्ने हुँदैन ।
     तसर्थ, निजी नाफामुखी शिक्षालाई समाजवादी शिक्षा पद्धतिले विस्थापन गर्न जरुरी छ । सामाजिक र सामूहिक मनोविज्ञान र संस्कृतिको विकाससँगै समाजवादी शैक्षिक संस्कृति स्थापित गर्नुपर्छ ।  शिक्षामा राज्यले पूर्ण दायित्व लिनुपर्छ । रुचि र क्षमतालाई आधार बनाउनुपर्छ । विशेष गरेर समाज विकासको ऐतिहासिक प्रक्रियालाई आवश्यक पर्ने जनशक्ति निर्माणमा आधारित हुनुर्छ । अर्थात राज्यको आवश्यकतासँग शिक्षा नीति एकाकार हुनुपर्छ । निहित स्वार्थ र निजित्वमा आधारित नाफा र व्यापारमुखी शैक्षिक प्रणालीलाई निरुत्साहित गर्नुपर्छ । व्यक्तिगत स्वार्थ र योजनामा विदेश गएर पढ्ने संस्कृतिलाई  निस्तेज गर्नुपर्छ । राज्यको राष्ट्रिय स्वार्थ र योजनामा मात्र युवा विद्यार्थीलाई विदेश पठाउनुपर्छ । सहर केन्द्रित शैक्षिक स्रोतसाधन र जनशक्तिलाई दूर्गम गाउँबस्तीमा पुर्याउनु पर्छ । यद्यपि यो समाजवादी शिक्षा प्रणालीमा मात्र सम्भव हुन्छ । यसकारण समाजवादी शिक्षा पद्धति नै न्यायिक पद्धति हो ।  
 

प्रतिकृया दिनुहोस

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिँदै

१० चैत २०७९, शुक्रवार रामेछाप– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिनु हुने भएको छ । शुक्रवार दिउँसो १ बजे बस्ने

संविधानलाई भष्म पार्ने प्रयास

महेश आचार्य १२ असोज, २०७९ वितेका केही दिनदेखि नागरिकता विधेयकका विषयमा व्यापक बहस छ, जुन अस्वाभाविक ढंगले सत्य भन्दा पनि तल गएर प्रचारात्मक ढंगले

जनप्रतिनीधिको खर्च विवरण र आयोगको निर्णय

वृषेशचन्द्र लाल १२, असोज २०७९ निर्वाचन आयोगले स्थानीय निर्वाचनमा सहभागी भएका १ लाख २३ हजार ६ सय ५० जना उम्मेदवारहरुलाई निर्वाचनको खर्च विवरण बुझाउन